२०८३ वैशाख २ , बुधबार

राष्ट्रिय एकता र आर्थिक समृद्धिको जिम्मेवारी हाम्रो काँधमा छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीबार (पुस २४) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ,” उनले भने, “त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा सानाठूला कम्युनिस्ट घटकहरुलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दै छौँ ।”

राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको प्रचण्डको भनाइ छ । सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको उनले तर्क गरे ।

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी गरे । जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको उनको जिकिर छ ।

“सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू यो पार्टीमा केन्द्रित हुने अवस्था बढ्दै गएको छ,” प्रचण्डले भने, “जेनजी युवापुस्ताहरूले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिस्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार