२०८३ वैशाख २ , बुधबार

रास्वपा र कुलमान पक्षबीच किचलो, दुवैतिर असन्तुष्टि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता सहमति भएता पनि केन्द्रीय सदस्यको विषय अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन् ।

कुलमान पक्षले केन्द्रीय सदस्य बढाउनुपर्ने अडानसहित प्रस्तुत भएपछि रास्वपाका नेताहरु नै असन्तुष्ट बन्न थालेका हुन् । केन्द्रीय सदस्य छान्नका लागि आन्तरिक रुपमै उज्यालो नेपाल पनि अलमलमा परेको छ ।

उज्यालो नेपालका नेता जितराम लामाका अनुसार, सुरुवाती चरणमा ५२ सदस्यीय केन्द्रीय समितिलाई बढाएर अहिले ९५ सदस्यीय बनाइएको छ ।

देशैभरीबाट चुनावमा भाग लिने हिसाबले पार्टीले संगठन विस्तार गरेको र पार्टीले वृहत रुप लिइसकेको अवस्थामा रास्वपासँग सहमति भएको उनले बताए ।

“उज्यालो नेपालले आक्रामक रुपमा संगठन विस्तार गरिरहेको थियो । सुरुमा ५२ सदस्यीय केन्द्रीय समिति बनाएका थियौँ । त्यसपछि अहिले ९५ सदस्यीय छ । चुनावसम्ममा केन्द्रीय समिति बढाउने भन्ने नै थियोे । देशैभरीबाट सबै निकायमा चुनाव लडाउने गरी तयारी थालेका थियौँ,” नेता लामाले बाह्रखरीसित भने ।

कुलमाननिकट एक नेताका अनुसार, विषेशत दुई कुराको कारणले केन्द्रीय सदस्य मनोनयनमा अलमल भइरहेको छ ।

“रास्वपासँगले उज्यालो नेपालबाट कहिले २६ जना कहिले २१ त कहिले १८ जना ल्याउनुस् भनिरहेको अवस्था छ । एकीन भएरै आउन सकेन । पार्टीले वृहत रुप लिइसकेकाले आन्तरिक रुपमा ९५ जना केन्द्रीय सदस्य छान्नका लागि पनि सकस भएकै हो,” स्रोतले भन्यो ।

यसअघि पुस १४ गते उपसभापतिको वरियतामा रहने गरी रास्वपा सभापति रवि लामिछाने र कुलमानबीच दुई पक्षीय सहमति भएको थियो । सो सहमति अनुसार, कुलमान नेतृत्वको उज्यालो नेपाल पनि घण्टी चुनाव चिह्नमार्फत आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिने सहमति भएको थियो ।

हामी नेपाली नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङ लगायतले दबाब दिएपछि सहमति आएको कुलमानले अहिले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताउँदै आएका छन् ।

कुलमानले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटर राजिनामा बुझाएका थिए ।

उज्यालो नेपालको तर्फबाट सुरुवाती चरणमा २१ जना पठाउने कुरा भएको तर, यही संख्या पनि हुन नसकेको ती नेताको भनाइ छ । रास्वपाका एक नेताका अनुसार, रास्वपाले उज्यालो नेपालको तर्फबाट १२ जनालाई ल्याउन भनेको थियो ।

“बालेन टिमबाट २६ जना केन्द्रीय सदस्य बनिसक्नुभयो । कुलमान टिमबाट १२ जनालाई ल्याउनुस् भनेका थियौँ । उहाँहरुको टिम ठुलो छ । सबैजनालाई मिलाउन मिल्दैन । उहाँहरुले मिलाउँदै हुनुहुन्छ,” स्रोतले भन्यो ।

रास्वपाका एक नेताका अनुसार, उज्यालो नेपालको तर्फका केन्द्रीय सदस्य बढाएर पठाउने भनेपछि रास्वपाले स्वीकार गरेको छैन् ।

“उहाँहरु एक महिनामै ९५ सदस्यीय केन्द्रीय समिति बनाउने ? अहिले रास्वपाले सबैलाई समेट्नुपर्ने भन्ने कुरा आयो । तीन वर्ष चलेको स्थापित पार्टीमा त्यो सम्भव छैन् । उहाँहरुले प्रेसर त होला तर, त्यो भन्दाधेरै प्रेसर रास्वपालाई छ,” ती नेताले भने ।

पार्टीभित्रैका बौद्धिक र प्रतिष्ठित नेताहरुलाई नै व्यवस्थापन गर्न नसकेको अवस्था रहेको पनि ती नेताले बताए ।

“कुलमानजीलाई रास्वपाले उपसभापति स्वीकार गरेको हो । तर, केन्द्रीय सदस्यमा सबैजसोलाई समेट्नुपर्ने कुरा ल्याउनुभयो । तीन पक्षबीच सदस्य बाँडफाँड गर्दा उहाँहरुको भागमा कति पर्ने हो त्यो दिन रास्वपा तयार छ,” ती नेताले भने ।

यसअघि रास्वपाले उज्यालो नेपालतर्फका १८ जनामध्येबाट ४ जनाको नाम काटेपछि कुलमान पक्ष असन्तुष्ट बनेको थियो । त्यसपछि आफ्नो छुट्टै समानुपातिक बन्दसूची बोकेर उज्यालो नेपालका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता, प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी रास्वपासँग सहमति भएको थियो ।

तर, बालेनले अहिलेसम्म कुनै सदस्यता लिएका भने छैनन् । बालेनपक्षले रास्वपाको साधारण सदस्य मात्रै रहेको बताइएको छ ।

“बालेनजीसँग भएको ‘अण्डरस्ट्याण्डिङ’ मा नै त्यो कुरा भएको हो । उहाँले सहमति गर्ने बेला नै म रास्वपाको कुनै पनि जिम्मेवारीमा बस्दीनँ नै भन्नुभएको थियो । उहाँको सम्मानका लागि रविपछिको वरियता र वरिष्ठ नेता भनेका हौँ,” रास्वपा नेता शिशिर खनालले भने ।

यस अघि पुस २० गते रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरिएको थियो । त्यस्तै, विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो ।

हाल रास्वपामा १२९ जना केन्द्रीय सदस्य छन् ।

नेता खनालका अनुसार, कुलमान पक्षलाई मिलाउनका लागि छलफल जारी रहेको बताए । “उहाँहरुले मिलाएर ल्याउनुहोला । राष्ट्रको आवश्यकता अनुसार मिलेरै चुनावमा जानुपर्छ,” उनले भने ।

पार्टी सभापति लामिछानेले घिसिङसँगको सहमतिलाई पार्टीको प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको जानकारी दिएका छन् ।

“उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ,” लामिछानेले भनेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार