भारतमा एप्पलको आइफोन उत्पादन र निर्यातले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । एप्पलले भारतबाट हालसम्म ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका आइफोन निर्यात गरिसकेको छ । यसले एप्पलको विश्वव्यापी आपूर्ति शृंखलामा भारत कति तीव्र गतिमा केन्द्रमा उभिएको छ भन्ने स्पष्ट देखाउँछ ।
यो परिवर्तन एकाएक भएको होइन । स्थानीय कर प्रोत्साहन र अमेरिकी भन्सार शुल्कको जोखिम घटाउने एप्पलको रणनीतिले भारतमा उत्पादन तीव्र रूपमा बढ्यो । अप्रिल २०२५ सम्म आइपुग्दा विश्वभर बिक्री हुने प्रत्येक पाँचमध्ये एक आइफोन भारतमै उत्पादन हुन थालेको थियो । त्यसको केही समयपछि अमेरिकी शुल्क लागू भएपछि भारतमा बनेका ९७ प्रतिशत आइफोन अमेरिकातर्फ निर्यात गरिएको थियो ।
द इकोनोमिक टाइम्सका अनुसार सन् २०२१ मा भारतको प्रोडक्सन–लिंक्ड इन्सेन्टिभ (पीएलआई) कार्यक्रममा सहभागी भएपछि एप्पलको निर्यातमा तीव्र वृद्धि भयो । तथ्यांकसँग परिचित एक अधिकारीका अनुसार, ‘आर्थिक वर्ष २०२६ का पहिलो नौ महिनामै करिब १६ अर्ब डलरका आइफोन निर्यात भइसकेका छन्, जसले पीएलआई अवधिभित्र कुल आइफोन निर्यात ५० अर्ब डलर पार गराएको छ ।’
पीएलआई कार्यक्रमले बदलिएको एप्पलको रणनीति
पीएलआई योजना अप्रिल १ देखि मार्च ३१ सम्मको पाँच आर्थिक वर्षका लागि लागू हुन्छ । एप्पलले स्थानीय साझेदारमार्फत उत्पादन शुरू गरेपछि आर्थिक वर्ष २०२२ बाट यो योजनाअन्तर्गत सुविधा पाउन थालेको हो । हाल भारत आर्थिक वर्ष २०२६ मा प्रवेश गरिसकेको छ, जुन मार्च ३१, २०२६ मा सकिँदैछ । त्यसैले योजनाअन्तर्गतको अन्तिम निर्यात तथ्यांक आउन बाँकी नै छ ।
यद्यपि, निर्यातको गति स्पष्ट देखिन्छ । कार्यक्रम सकिन तीन महिना बाँकी रहँदा पनि एप्पलको निर्यात निरन्तर बढ्दो छ । कोभिड–१९ महामारी र कारखाना स्थापना ढिलाइका कारण प्रारम्भिक लक्ष्य पूरा हुन नसकेपछि सरकारले यो योजना एक वर्ष थप गरेको थियो ।
यस योजनाबाट सामसङले पनि फाइदा उठायो, तर एप्पलको तुलनामा कम मात्रामा । आर्थिक वर्ष २०२१ देखि २०२५ सम्म सामसङले भारतबाट करिब १७ अर्ब डलरका स्मार्टफोन निर्यात गर्यो । पहिलेदेखि नै उत्पादन संरचना भएकाले सामसङले आफ्ना लक्ष्य छिट्टै पूरा गरेको थियो ।
हाल एप्पलको भारतस्थित आइफोन उत्पादन पाँचवटा कारखानामा आधारित छ । तीमध्ये तीन टाटाले सञ्चालन गरिरहेका छन् भने दुई फक्सकनले । यी कारखानाले करिब ४५ कम्पनीको आपूर्ति शृंखला सम्हालेका छन्, जसमा धेरैजसो साना तथा मझौला उद्योग (एमएसएमई) छन् । ती कम्पनीहरूले घरेलु र अन्तर्राष्ट्रिय बजारका लागि कम्पोनेन्ट आपूर्ति गर्छन् ।
यस वृद्धिले भारतको निर्यात संरचनामा ठूलो परिवर्तन ल्याएको छ । आर्थिक वर्ष २०२५ मा स्मार्टफोन भारतको सबैभन्दा ठूलो निर्यात वस्तु बनेको छ, जसमा आइफोनको हिस्सा ७५ प्रतिशत छ । एक दशकअघि यही श्रेणी १६७औं स्थानमा थियो ।
स्मार्टफोनसम्बन्धी पीएलआई योजना आगामी मार्चमा सकिए पनि सरकारी सहयोग निरन्तर रहने संकेत देखिएको छ । अधिकारीहरूले चीन र भियतनामको तुलनामा भारतीय उत्पादकहरू अझै लागतको हिसाबले केही पछाडि रहेको स्वीकार गर्दै कुनै न कुनै रूपमा समर्थन जारी रहने बताएका छन् ।
एक अधिकारीका शब्दमा, ‘योजनाको औपचारिक सुरुआतपछि वास्तविक गति तब आयो, जब एप्पलले आफ्ना आपूर्तिकर्तालाई भारत ल्याउने निर्णय गर्यो ।’ यही निर्णयले अब चीनभन्दा बाहिर एप्पलको उत्पादन भविष्यलाई परिभाषित गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्